कसरी लेखियो खेवा वंशावली ?
खेवा वंशावली २०४८/५२ तिर तयार भएको हो । गाँउका अग्रजहरु विभिन्न ठाँउमा गएर सोधखोज गरेर तयार पारेका हुन । बशावलीको मुख्य स्रोत सुब्बा स्व. ज्ञानबहादुर (हात्तिखर्क), स्व. सुब्बा दलबहादुर (ओख्रे), स्व. सुब्बा हिर्दयमान (हात्तिखर्क) र क्याप्टेन गजरधनबाट प्राप्त टिपोटलाई ५ बर्षभन्दा बढि अध्ययन, अनुसन्धान गरेर तयार पारिएको हो । एकजना ब्रम्हचारी जस्ले राणाकालको बेला आजीवन लेख्ने काम मात्र गरे विवाह समेत गरेन्न वहाको नामै ब्रम्हचारी थियो । वहाको बाकसमा पनि केही महत्वपूर्ण कागजहरु प्राप्त भएका थिए । त्यसवेला माबोहरुको मात्र सानो बंशावलि पुस्तक भेटिएको थियो । आआफ्नो भाषालिपी, संस्कार संस्कृति लेख्न पाउने गरि भर्खर बहूदल भित्रिएको थियो । त्यसैले हुनसक्छ कांङसोरे, बुद्धिकर्ण को कुनै चासोचर्चा थिएन । बुढापाकाहरुले बरु हात्ती बाजेको कुरा गर्थे । लडाईमा शत्रुलाई मान्छे नै टिपेर हान्थे अरे उनले । त्यसैले लडाकुहरुको सन्तान भन्थे त्यो बेला खेवाहरुलाई ।
को हुन खेवा ?
लिम्बु खेवाहरु ६ थरिका छन् । तिगेला, मादेन, माङयाक, आङलाबाङ, चोङबाङ र तुम्बा हुन र उनीहरुले दुइखुट्टे पंक्षिको मासु खादैन्न ।
प्राप्त प्रमाण
तत्कालिन सुब्बा ज्ञानबहादुर (जो ५ पुस्ता अघिका) को १७ पोका रुक्का, इस्तिहार, सनद, लालमोहर (कालो छाप) हामी संग अझै सुरक्षित रहेका छन् । वि. स. १८२८ ताकाका पनि कागजपत्र रहेका छन् । १३ फूट सम्म लामो कागजहरु छन तर विडम्बना पढ्न सकिन्दैन । येहाङ लावती र डा. गोविन्द भट्टराई ज्यूले पनि हेर्नुभएको छ । ती कागजको आधारमा हेर्दा जंगबहादुर राणा तथा राणाहरु संग सुब्बा ज्ञानबहादुरको सम्बन्ध अति नजिक देखिन्छ । त्यसैले खेवाहरु पनि सेनापतिको हैसियतमा थिए भन्ने संकेत गर्छ ।
युद्धस्थल र खेवाहाँङहरुको बसोवास
लिम्बुवानी योद्धा काङसोरे छथर सुदापमा जन्मिएको इतिहासले देखाउछ । विभिन्न लेखहरुमा सभादोभान र सुदापको दुरीलाई अघि सारेको पाइन्छ । यद्यपी सेनापति सिंगो राज्यको हुनेभएकोले लिम्बुवान भित्रको जुनसुकै ठाँउको हुन सक्दछ । खेवाहरु बाक्लो बस्तीरहेको स्थान मध्ये हात्तिखर्क धनकुटा एक हो । हात्तिखर्क देखि सभादोभान नजिकको ठाँउ माङमाया पुग्न लगभग ३ घण्टा लाग्दछ ।
हात्तिखर्क आठपहरियाहरुको भूमि भएको र छोङदेनहाङले दुख दिएकाले सुदापमा राजगरि बसेका खेवा राजालाई सहयोग माग्न गए र सुदापबाट आएर छोङदेनहरुलाई युद्धमा जिते, खेदाए र आठपहरियाहरुले सहयोगको बद्ला त्यो भूमि खेवा तिगेलालाई छोडि दिएको हो । उनीहरु धनकुटामा आए । खेवा तिगेलाहरु अहिले लगभग २ सयघर हात्तिखर्कमा रहेका छौ । अहिले पनि हात्तिखर्कको माकलुङ भन्ने ठाँउमा बर्षबर्षमा धनकुटाबाट आएर आठपहरियाहरुले अझैपनि भूमि पुजा गर्छन ।
अहिले अरुण नदीको गडतीर माङमायामा केही तिगेलाहरुको बस्ति रहेको छ जुनकुरा २०५१/५२ ताका बशावली निर्माणको क्रममै उनीहरु संग चिनजान भएको हो । सुनिन्छ अरुण नदीको नजिक भोजपुरमा पनि एकदुईघर खेवाहाङहरु रहेका छन् ।
सम्बन्धित अन्य इतिहास
धरान बिजयपुरको भर्तवीर अर्थात बुढासुब्बा खेवाहाङ तिगेला हुन भन्नेमा विवाद छैन । उनले चलाउने मटेङ्ग्रा हात्तिखर्क गाँउमा अझै सुरक्षित रहेको छ र बुढासुब्बा मन्दिर हात्तिखर्कमा पनि छ । भर्तवीर अल्पिएका ठाँउ तत्कालिन लिम्बुवानको राजधानी विजयपुर संगै रहेको छ । उक्त बुढासुब्बा मन्दिरका पुजारी हात्तिखर्ककै मगरहरु हुन जो अहिले पनि पुजारी छन् । उनीहरु भर्तवीर संगै सहयोगिको रुपमा गएका थिए । भर्तवीर (बुढासुब्बा) का नातेदार बुद्धिकर्ण राय विजयपुरका राजा थिए । हडसन लगायतको इतिहासका पुस्तकहरुमा राजा बुद्धिकर्ण खेवाहाँङ भएको उल्लेख छ । खेवा बंशावली अनुसार बुद्धिकर्ण र भर्तवीर नातेदार हुन । त्यसैले भर्तवीर त्यहा पुगेका थिए । राजा बुद्धिकर्ण भएको कारण नातेदार (काका) कांङसोरेलाई सेनापति अर्थात युद्धको नेतृत्व दिएको÷लिएको मानिन्छ ।
केही बुदागत हेरौ
१. खेवा तिगेलाको बंशावलीमा बुद्धिकर्ण, भर्तवीर र काङसोरे उल्लेख हुनु र युद्ध भएको समय संग ठ्याक्क मिल्नु ।
२. खेवा बंशावली प्रकाशन भएको तीनचार बर्ष पछि मात्र काङसोरेको चर्चा शुरु हुनु ।
३. पृथ्वी नारायण शाहका सेनापति रघु राना संग भएको युद्धस्थल खेवाहरु बसोवास गर्ने ठाँउ नजिक रहनु ।
४. बुद्धिकर्ण खेवाहाँङ विजयपुरका राजा थिए ।
५. खेवा तिगेलाहरु परापूर्वकालमा फेदाप, छथर ताकलुङमा राज्य गर्दथे ।
६. खेवाहरु लडाकु थिए त्यसैले हात्तिखर्कबाट छोङदेनहरुलाई युद्धमा जितेर खेदाएका थिए ।
७. झण्डै आधा दर्जन इतिहासको पुस्तकहरुमा काङसोरे तिगेला भएको उल्लेख हुनु ।
८. तिगेलाले दावी गर्नु अगावै कसैले दावा नगर्नु ।
९. राणा शासन कालमा सुब्बा ज्ञानबहादुर लिम्बु (तिगेला) को राणाहरुसंग घनिष्ट सम्बन्ध हुनु ।
१०. जनमानसमा काङसोरे तिगेला भएको बुझाई हुनु र तिगेलाहरुलाई काङसोरे सन्तान भनिनु ।
११. श्री ३ वीरसम्शेर राणाको विरुद्धमा लागेको र अनुमति नलिइ पशुपतिनाथ मन्दिरको मुलद्धारमा पित्तलद्धारा निर्मित साढेको बसाह मूर्ति चढाए वापत हुलाकी जमदार मानबहादुर तिगेलालाई मृत्यूदण्ड दिइएको थियो । मन्दिर नजिक रहेको पशुपति मृगस्थली बनमा उनलाई काटेरे मारेका थिए । कारण त्यसवेला राणा र राजाहरुले मात्र त्यसरी चढाउन पाउथे । यो इतिहासले पनि शासक, शासन र पहूच नजिक देखिन्छ ।
१२. शहिद जमदार मानबहादुर तिगेलाका सन्तानहरु अहिले अरुण गढतीर लेगुवामा रहेका छन् । उनका एक छोरा अत्यन्तै लकाकु थिए र उनलाई हात्ति, हात्तिबुढा भन्दथे ।
यी माथिका बुदाहरुले काङसोर खेवाहाँङ तिगेला हुन । काङसोरे नाम गरेका अन्य लडाकूहरु पनि हुनसक्दछ । यद्यपी अहिले सम्म प्राप्त प्रमाणहरुको आधारमा तिगेला नै भएको मानिन्छ ।
दावी
लेखक टंक बनेम (हालः वेलायत) ले वेग्लै दावी गर्नुभएको छ । इमानसिंह चेम्जोङद्धारा लिखित किरातकालीन विजयपुरको संक्षिप्त इतिहास पुस्तकको पेज ९१ मा लेखिएको इतिहासलाई बङ्ग्याउनु भएको छ । पुस्तकमा यस्तो लेखिएको छ:
वि.स. १८३१ सालतिर चैनपुरमा सुब्बा जैकर्ण रायको नाम प्रसिद्ध थियो । यसै साल गोर्खा सेनाले अरुण नदी तरी चैनपुरे लिम्बुहरुको थुममा आक्रमण गर्न अरुण नदी र सिवा (सभा वा ?) नदीको दोभानमा मोर्चा बाँधेका छन् भन्ने खबर सुब्बा जैकर्ण रायकोका कानमा पुग्नासाथ उनले आफ्नो राज्यभरको लिम्बु फौज उठाई साङवोत राय, तेसाकपा राय तथा काङसो राय अफिसरहरुका नेतृत्वमा आक्रमणकारीहरुको विरुद्ध लडाई गर्न पठाएर अरुण–सिवा (सभा वा ?) नदीको दोभानमा गोर्खा सेनाका धेरैजसो मानिसहरु मारिएपछि बाँकी रहेको फौजले युद्ध क्षेत्रबाट पलायत गरयो ।
(उल्लेख भएको ठाँउमा स्रोत र पेज खुलाइएको छ । यद्यपी लेखक वनेम आफैले केही थप्नु भएको छ र केही फरक, गलत जानकारी गएको छ । जुन यसप्रकार तल छ)
वि.स. १८३१ सालतिर चैनपुर (संखुवासभा) मा गोर्खा र लिम्बुहरुको युद्ध भएको वेला जैकर्ण बनेम्बा फागो राय’ (श्री श्रीदेवराय सिर्देउ काजीको समकालिन) ले चैनपुर राज्यको बागडोर सम्हालेका थिए । –किरातकालिन विजयपुरको संक्षिप्त इतिहास पेन ९१) उनका सेनापतिहरु साङबोत राय, तेसाक्पा राय, काङका राय र काङसोरायको नेतृत्वमा गोर्खा विरुद्ध अरुण सभा दोभानमा लडाइ लडेका थिए । यो लडाइमा गोर्खाली पक्षमा धेरै क्षति भएपछि गोर्खा पक्ष रणक्षेत्र छाडि भागेका थिए । त्यसपछि दोस्रो आक्रमणम वि.स. १८४० सालमा मिष्टर हड्सनले संकलन गरेको लिम्बु भाषाको पाण्डूलिपीमा इमानसिंह चेम्जोङ अनुसार लिम्बुवानको पहिलो लिम्बु इतिहासकार जोवानसिं (कितावसिं) फागोले –हड्सनद्धारा संकलित पाण्डूलिपी भो. ८५ पृष्ठ १३२–१४९) गोर्खासंग भएको चैनपुरको लडाईबारे तमोरखोले लिम्बु भाषिकामा त्यो द्धन्द्ध युद्धका बर्णन यसरी गरेका थिए ।
भनेर उल्लेख गर्नुभएको छ तर उक्त पेजमा कतै पनि ‘बनेम्बा फागो राय’ लेखिएको पाइन्दैन (स्कान गरेको किरातकालीन विजयपुरको संक्षिप्त इतिहास पुस्तकको पेज ९१ हेर्नुहोस) यसरी नियतवस वा अन्जानमा इतिहास गलत बनाउनु भएको छ यसमा यहाको गम्भिर ध्यानआकर्षण गराउन चाहान्छौ । दोस्रो – यहाको लेखको छैठौ अनुच्छेदमा लेख्नु भएको छ – ‘हालैमा काङसोरेलाई तिगेला खेवा लिम्बु भनी अर्को भ्रम पनि रोपिन शुरु गरिएको छ ।’ काङसोर प्रति तपाइको दावी चेम्जोङद्धारा लिखित पुस्तकमा कतैपनि छैन । अनि खेवा तिगेलाले गरेको दावीलाई भ्रम भन्नु भयो यो साह्रै गजब लाग्यो । पुन: एकपटक उक्त पुस्तक आफैले पढ्न आग्रह गर्दछौ ।

Click on photo to view in Big Size >>>
रघु राना संगको लडाइ ताका विजयपुरको राजा बुद्धिकर्ण राय थिए र उनका काका काङ्सोरे थिए । त्यसैले राजाले आफ्न्तलाई सेनापति अर्थात लडाईको नेतृत्व दिएको मानिन्छ ।
प्रमाणहरुको आधारमा यसरी दावी शुरु भयो
कसैले वास्त नगरेको, दावी नगरेको र धेरै इतिहासविद र समाजका अग्रजहरुले तिमीहरुको पूर्खा हो भनेको साथै इतिहासको पुस्तकहरुमा पनि उल्लेख भएको, हाम्रो बंशावलीमा स्पष्ट उल्लेख भएको, यति सम्म की काङसोरे पुरस्कार स्थापनाको लागि हामीलाई उनको साखासन्तान सम्झेर अनुमति मागेको कारण हामी बाँध्य भएर बुद्धिकर्ण तथा काङसोरे संरक्षण प्रतिष्ठान स्थापना गरेर औपचारिक दावी गरेका हौ । प्राप्त लिखत इतिहासको आधारमा काङसोर हाम्रै पूर्खा भएको देखिन्छ तर इतिहास हो भोलि अझ विश्वासयोग्य आधारहरु प्राप्त भयो र अरु कसैको पूर्खा प्रमाणित भएमा हामी सहर्ष दावी छोड्ने छौ र योद्धा काङ्सोरेको लागि कुनैपनि सहयोग निरन्तर गर्नेछौ ।
समग्रमा काङसोरे लिम्बुवानका सेनानी थिए । काङसोरे लिम्बु थिए । विना प्रमाण काङसोरेको दावी भन्दा सहि इतिहास असल हो ।
तिगेलाको बंशावली तयारी बखत काङसोरेको चर्चा थिएन र अब बन्ने अर्थात काङसोरेको चर्चापछि बन्ने/बनेका बंशावली काङसोरेको दावा गर्न अभिप्रेरित पनि हुनसक्दछ ।
संक्षिप्तमा काङसोरे
नामः काङसोरे
पिताको नामः कुम राय
जन्मः छथर सुदाप
जन्मः वि. सं. १८००
श्रीमतिको नामः फूङमति –(फूङराय पान्थर थुमहाँङको छोरी)
विवाहः वि. सं. १८२१
सन्तानः कनराय (१८२४), केयुराय (१८२८), गर्भे टुहुरो (१८३१)
सहादतः २५ बैसाक १८३१
लिम्बुवानको सवालमा केहि कुराहरुको सम्बन्धमा स्पष्ट हुनुपर्ने आवश्यकता भएकोले संक्षिप्तमा केही कुराहरु राखिएको छ:
बर्तमान दावी गरिएको लिम्बुवान भूमिको नाम समय अनुसार यस प्रकार रहेको थियो
१. याक्थुङ लाजेः जुनवेला आदि, अनादीकालबाट याक्थुङ जातिहरुको मात्र बसोवास थियो
२. लिम्बुवानः भेन्सिटार्ड र इमानसिंका अनुसार छैठौ शताब्दिको विद्रोह सफलता पछि लिम्वुवान लेख्ने सहमति भयो । दोस्रो – राजा पृथ्वी नारायण शाह संगको सम्झौता पत्र वि. स. १८३१ को लालमोहरमा पनि उल्लेख भएको पाइन्छ ।
३. पल्लो किरातः राणा शासनको बेलामा ३६ जिल्लामा विभाजन गरिएको बखत, राणाहरुको उदय वि. सं. १९०३ पश्चात
४. मेची, कोशिः अंचल विभाजन वि. सं. २०१७/१८ बाट
लिम्बुवान र लिम्बु
छैठौ शताब्दिका ८ याक्थुङ राजाहरुको विरुद्ध १० सरदार याक्थुङहरु लगायतको नेतृत्वमा विद्रोह भयो । धनुषकाँडको प्रयोगबाटै उक्त विशाल विद्रोह सफल भयो र त्यसपछि भेला भएर विजय गरेको क्षेत्रलाई लिम्बुवान भन्ने निर्णय भयो । ‘लि’ को अर्थ धनुष, ‘अम्बु’को अर्थ हानेर जितेको, ‘वान’ को अर्थ क्षेत्र हुने भएकोले लिम्बुवान नामाकरण गरियो र लिम्वुवान क्षेत्रमा बस्ने सवै जाति लिम्बु र लिम्बुवानवासी कहलाइए ।
सिमानाः
अरुण (अरङवा) पूर्व र हाल दार्जिलिङ र सिक्कममा पर्ने टिष्टा (तिवा) पश्चिमको भाग, दक्षिणमा जोगवनी देखि दक्षिण ६६ कि. मि. दुरिमा रहेको पूर्णिया जिल्लामा पर्ने जलालगढ र उत्तरमा भोट सम्म थियो । लिम्बुवानको बीचमा रहेको तम्मोर नदिलाई त्यसवेला ताम्वा भनिन्थ्यो ।
स्वायत्त राज्य
गोरखा र लिम्बुवान बीच १७ पटक सम्मको युद्धमा पनि हारजीत नभएपछि वि. सं. १८३१ मा लिम्बुवानको तर्फबाट कुम राय, सुन राय, जङ राय र गोरखाका राजा पृथ्वी नारायण शाह बीच ऐतिहासिक सन्धि (लालमोहर) गरेर लिम्बुवान पूर्ण स्वायत्त रहने गरि नेपालमा गाँभिएको थियो । उक्त सन्धि विजयपुर (धरान नजिक) दरबारमा भएको थियो । वि. सं. १९४५ सम्म काठमाडौमा लिम्बुवानको एकजना प्रतिनिधि रहने ब्यवस्था पनि थियो जसले दुतको काम गर्दथ्यो । वि. सं.२०२५ सालमा किपट प्रथाको कानुनमा परिवर्तन गरि क्रमशः अन्त्य गरियो ।
पद्वी र पहिचान
राय, राइ को अर्थ राजा पद्वी हो । यो पद्वी लिम्बुलाई पनि दिइन्थ्यो । लिम्बुले राय लेख्नु भन्दा पहिला याक्थुङ्वा लेख्दथे । लालमोहरहरुमा राय, राइ लिम्बुहरुलाई पनि प्रयोग गरेको पाइएकोले पद्वी हो भन्ने देखिन्छ । लिम्बुहरुलाई सुब्बा को पनि पद्वी दिइएको थियो र हाल पनि सुब्बा लेख्ने चलन छदैछ । सुब्बा पद्वी गुरुङ, थकालीहलाई पनि दिएको पाइन्छ । राइ (राजा) पद्वी खम्बुहरुले धेरै प्रचलनमा ल्याएकाले अन्ततः थरको रुपमा विकास भएको तर्क पाइन्छ । उनीहरुले पहिला खम्बु लेख्दथे आजकाल पनि लेख्दै आएका छन् । लिम्बुहरुले सुब्बा पदवी बढि प्रयोग गरेको भए थर नै सुब्बा हुनेथियो र गुरुङ, थकाली सुब्बाहरु पनि सुब्बा जाति कहलाउन सक्दथ्यो, अधिकाश लिम्बुले अहिले पनि सुब्बा लेख्ने गर्दछन् । एकै क्षेत्रमा बसोवास गर्ने खम्बु, लिम्बु, याख्खा, देवान, सुनुवार, जिरेल, सुरेल, धिमाल लगायतकाहरु गौरवशालि किरात सन्तति हुन् ।
कुन सघिय प्रणाली ?
गोरखा राज्यको एकात्मककरण अभियानमा अन्यहरुलाई पनि रुक्का, इस्तिहार, सनद, लालमोहर दिइएको पाइन्छ यद्यपी लिम्बुवानलाई दिइएको लालमोहर बिशेष र महत्वपूर्ण मानिन्छ । नेपालका धेरै भूभागहरु युद्धमा जितेर नेपालमा गाँभिएको भए पनि तिनीहरु युद्धपूर्व छुट्टै राज्य थिए र लिम्बुवान, मुस्ताङ लगायतको भूमिहरु सहमति र सम्झौताबाट नेपाल संग जोडिएकोले नेपालको संघिय प्रणाली युनियन ढाँचाको हुनु सान्दार्भिक देखिन्छ ।
- विश्वासदीप तिगेला
(येहाङ लावती ज्यूको सहयोगमा)
खेवा लिम्बू र पंक्षी
किरात लिम्बूहरूमध्ये धनकुटा र तेह्रथुम जिल्लाका केही गाविसहरूमा छथरे लिम्बूहरू बसोबास गर्छन् । धनकुटा जिल्लाको हात्तीखर्क, मूर्तिढुङ्गा, अर्खौले जीतपुर, घोर्लिखर्क, तेलिया र ताङ्खुवा गाविस तथा तेह्रथुमको ओख्रे, पोखरी, फाक्चामारामा रहेका छन् । छथरे लिम्बूमा छवटा थर हुन्छन् र उनीहरूलाई खेवा लिम्बू पनि भनिन्छ । छथरे लिम्बूहरूमा तिगेला, तुम्बा, माङ्याक, मादेन, चोङबाङ तथा आङ्लाबाङ (आङ्खेवा) पर्छन् । उनीहरूलाई खेवा भन्नुको अर्थ खे भनेको लिम्बू भाषामा वन हो भने वा को अर्थ कुखुरा वा पक्षी हुन्छ । यी लिम्बूहरूको एउटा विशेषता के हो भने उनीहरू कुनै पनि पक्षीको मासु खाँदैनन् । पक्षी खाएमा आफूहरूलाई त्यसले पिरोल्ने वा अशुभ हुने सांस्कृतिक तथा धार्मिक विश्वास उनीहरूमा छ ।
ताक्लुङ यक
छथरे लिम्बूहरू आफ्नो पितृभूमिको सम्मान गर्दै तेह्रथुमको ओख्रे गाविसमा रहेको ताक्लुङ यक (गढी) लाई उनीहरू आफ्नो इतिहासको विरासत मान्ने गर्छन् । उक्त गढीको ऐतिहासिक पक्ष केलाउने हो भने सो गढी छैटौँ शताब्दीमा लिम्बूवान दस प्रान्तमा विभाजित हुँदा छथरे लिम्बूहरूले खडा गरेका हुन् । इडेन भ्यान्सिर्टार्टको पुस्तक गुर्खाज (१९०६) मा उनले उक्त ठाउँमा ताक्लुङ खजुमहाङ राजाले शासन गरी उनले चिमलिङ्ग गढी वनाएको उल्लेख छ । सोही कुरालाई किराँत विद्वान् इमानसिंह चेम्जोङले आफ्नो पुस्तक हिस्ट्री एण्ड कल्चर अफ किरात पिपल (१९६७) मा र्समर्थन गरेका छन् । तर ताक्लुङ गढीका सम्बन्धमा इतिहासकारहरू प्रेमबहादुर लिम्बू र भुपेन्द्रनाथ ढुङ्गेल तथा शिवकुमार श्रेष्ठले विमति प्रकट गरेका छन् । लिम्बू र ढुङ्गेलको संयुक्त इतिहासकृति सङ्क्षिप्त नेपाल इतिहास अनुसार उक्त पुस्तकमा लेखिएअनुसार उक्त गढीलाई ताक्लुङदेन यकि भनिएको छ र यसलाई राजधानी वनाएर खेबोहाङले शासन चलाएको उल्लेख गरिएको छ । तर उनीहरू सबैको भनाइप्रति असहमति जनाउँदै लिम्बूवानसम्बन्धी पछिल्लो इतिहासकृति लिम्बूवानको ऐतिहासिक अध्ययन (२०४२) मा इतिहासकार शिवकुमार श्रेष्ठले उक्त गढीमा रहेर इमिमुहाङले छथर इलाकाको शासन गरेका र उनी खेवा थरका लिम्बू थिए भनेका छन् । उनले ताक्लुङ यक वनाएर शासन चलाएको उक्त पुस्तकमा उल्लेख छ । वास्तवमा श्रेष्ठको भनाइ सत्यताको नजिक किन पनि छ भने सो गढीलाई अझै पनि यस क्षेत्रका छथरे लिम्बूहरू आफ्नो इतिहासको विरासत मान्छन् र वर्षोनि त्यहीँ पितृपूजा गर्ने गर्छन् ।
त्यहा २०१२ सालसम्म विभिन्न शिलालेखहरू रहेका थिए भन्ने कुरा मानव उत्पति र खेवा वंश (२०५५) पुस्तकमा उल्लेख छ तर ती सबै अहिले भूक्षयका कारण नष्ट भइसके भने त्यहाँका महत्वपूर्ण सामग्रीहरूसमेत लोप भएर गइसकेका उक्त पुस्तकमा उल्लेख छ । यद्यपि त्यहाँ छथरे लिम्बूहरूले पूजा गर्न भने छाडेका छैनन् । छथरे वंशावलीअनुसार छैटौँ शताब्दीमा यसै गढीमा रहेर छथरे प्रान्तको शासन गर्ने लिम्बू राजाका इमेबुङका दसौँ पिँढीका हाङजिलीहाङ्दुम्बाका चार भाइ छोरा आपसमा छुटि्टदा खेवा लिम्बूहरू चार थरमा विभाजित हुन पुगे । जेठा छोरा मुक्तिमहाङ खेवालाई तिगेला भन्न थालियो । यस्तै, माइलो लुम्दुमहाङलाई मङ्याक, साइँलो लेतुमहाङलाई आङ्लाबाङ र कान्छो चोङहिमलाई चोङबाङ भन्न थालियो र यी चार जना चार थरमा विभाजित हुन पुगे । तीमध्ये मङ्याक थरबाट अर्को दुइ थर निस्क्यो । उनका सन्तानमध्ये एकले मादेन र अर्कोले तुम्बा थर लेख्न थाले । त्यसपछि यी खेवा लिम्बूहरू छथरमा विभाजित हुन पुगेको खेवा वंशावलीमा उल्लेख छ ।
खेवा अर्थात् वनकुखुराको कथा
खेवा लिम्बूहरू कुनै पनि पंक्षीको मासु खाँदैनन् । उनीहरू पंक्षीको हत्या गर्न हुँदैन भन्ने मान्यता राख्छन् । उनीहरू पंक्षीलाई शुक्रताराका रूपमा सम्मान गर्छन् र शुक्रतारा झुल्केको समयमा कहिँ कतै हिँडे साइत पर्छ भन्ने विश्वास राख्छन् । यस सम्बन्धमा लिम्बू मुन्धुममा एउटा रोचक किम्वदन्ती उल्लेख पाइन्छ । सत्ययुगमा पोङ्गेनदिङ नामका एक बालक थिए । उनी नै खेवा लिम्बूका पूर्खा हुन् । उनी जीवनयापनका लागि शिकारीको रूपमा जङ्गलजङ्गल चाहार्थे । यसरी जङ्गल चाहार्नेक्रममा उनले एक दिन एउटा वनकुखुराको फुल बाटामा भेटे । त्यो फुललाई उनी अत्यन्तै माया गर्थे र त्यसलाई आफैँसित राखेर सुत्ने गर्थे । समय पुगेपछि त्यो फुलबाट एउटा चल्लाको जन्म भयो । कालान्तरमा त्यो एक भाले कुखुरा बन्यो । त्यस कुखुरालाई त्यो बालकले पालनपोषण गरी हूर्काएको हुनाले कुखुरा बालकप्रति आभारी थियो । एक दिन त्यस वनकुखुराले जवान भइसकेका त्यस मनुष्यलाई भन्यो, हे मनुष्य अब तिमीले आफ्नो सृष्टिलाई अगाडि बढाउनुपर्छ । त्यसका लागि तिमीले विवाह गर्नुपर्छ । तिम्रो विवाह गराएर मलाई लगाएको गुणको बदला तिर्नेछु । मनुष्य अक्क न बक्क भयो । उसले ठानेको थियो यो संसारमा केवल ऊ र त्यस वनकुखुरा मात्र रहेको छ । त्यसैले उसले सोध्यो, हे वनकुखुरा तिमीले यो के भनेको – मैले कसरी र कोसित विवाह गर्ने र सृष्टि चलाउने ? उसले आफ्नो विवाह सम्भव नभएको भन्दै वनकुखुराको प्रस्तावप्रति आर्श्चर्य व्यक्त गर्यो । त्यसपछि तिम्रो लागि म एउटा जीवनसाथी ल्याएरै छाड्छु भनी भाले उडेर बेपत्ता भयो । ती मनुष्यलाई भने कौतूहल भयो । केही दिनपछि त्यो वनकुखुरा एउटी सुन्दरी कन्यालाई
लिएर आइपुग्यो । मनुष्य चकित भए । त्यसपछि वनकुखुराले ती सुन्दरीलाई औँल्याउँदै भन्यो, हे मनुष्य मैले तिम्रो लागि यिनै कन्या ल्याइदिएको छु, यिनीसँगै तिमी विवाह गर अनि आफ्नो सृष्टिलाई अगाडि बढाएर लैजाउ । यसपछि ती मनुष्य र कन्याबीच विवाह संस्कार सम्पन्न भयो । विवाहपछि वनकुखुराले बिदा माग्दै भन्यो, अब मैले तिम्रो गुनको बदला तिरेको ठानेको छु । अब म तिमीहरूबाट बिदा हुनुपर्छ । मलाई बिदा देऊ । तर यी लोग्नेस्वास्नी भने वनकुखुरालाई अत्यन्तै माया गर्थे । आफ्नै परिवारका सदस्य ठान्थे । त्यसैले उनीहरू वनकुखुराको आफूहरूबाट अलग्गिने कुराप्रति र्समर्थन गर्न सक्दैनथे । अझ वनकुखुराले आफूले गर्नुपर्ने कर्म गरेकोले आफू जानैपर्ने बताउँदै भन्यो यदि मलाई देख्नु वा भेट्नु छ भने भोलि बिहानको मिर्मिरेमा आकाशको पूर्वतर्फ हेर्नु मलाई त्यहीँ पाउनेछौ, तिमीहरूले मेरो सिर र पुच्छर देख्नेछौ ।
आफ्ना परिवारको सदस्य सरहको त्यो वनकुखुरो आफूहरूबाट विछोडिएपछि विहृवल वनेका सम्पतीले भोलि बिहानै पूर्वतर्फ आकाशमा मिर्मिरे उज्यालो हुनासाथ हेरे । त्यो वनकुखुरा त शुक्रतारा पो भएछ । त्यसपछि दम्पतीले भने, सेवारो (नमस्कार), तिमी वनकुखुराको रूपमा आएका माङ (भगवान्) पो रहेछौँ । हाम्रो कल्याण गर प्रभु । त्यसपछि उनीहरूले आफूबाट जन्मने सन्तानको वंश खेवा (वनकुखुरा) राख्ने निर्णय गरे ।
यसरी वनकुखुराले जुराएको यी दम्पतीबाट दुइ छोराको जन्म भयो । उनीहरूमध्ये जेठो छोरोचाहिँ बाबुआमाको अर्ति-उपदेश मान्ने गर्थ्यो भने कान्छो छोरो चाहिँ बाबुआमाले भनेको मान्दैनथ्यो । आमाबाबुले भनेको शिकार गर्दा कुनै पनि पक्षीको प्राण लिनु हुँदैन भन्ने अर्ति-उपदेश विपरीत ऊ जङ्गलजङ्गलमा घुमी पक्षीहरूको बध गर्ने गर्थ्यो । कहीँ कतै जाँदा पनि शुक्रतारा झुल्केको समय उपयुक्त साइत हो भन्ने आमाबाबुको भनाइलाई पनि ऊ लत्याउने गर्थ्यो ।
एक दिन ऊ कुनै साइतविना जङ्गलमा शिकार गर्न गयो । वनकुखुराको शिकार गर्नका लागि बेलुकाको साइतमा घर छाड्ने बेलामा आमाबाबुलाई भन्यो, यदि म भोलि बिहान भाले बास्दाबास्दै आइँन भने म मरेको ठान्नुहोला । धनुकाँड लिएर हिँडेको ऊ रातभर शिकारको खोजीमा भौँतारिँदा भौँतारिँदै बिहान शुक्रतारा पनि झुल्किसकेको थियो । त्यसैबेला उसले एउटा वनकुखुरा देख्यो र तत्काल धनुकाँड प्रहार गर्यो तर उसको निशाना असफल भयो । बरु त्यो वनकुखुराले भन्यो, मलाई मार्न खोजेर तिमीले ठूलो गल्ती गर्यौ । मैले तिम्रो सृष्टिका लागि काम गरेको थिएँ । यसो भनिसकेपछि वनकुखुरा तत्काल त्यहाँबाट अल्पियो । वनकुखुराको शिकार गर्न गएको त्यो व्यक्तिको पनि तत्काल मृत्यु हुनपुग्यो । यसरी आफ्नो सृष्टि चलाइदिएका कारण खेवाहरू वनकुखुराको मात्र होइन सम्पूर्ण पंक्षी जगतको सम्मान गर्छन् र पंक्षीको शिकार गर्ने मात्र होइन, उनीहरू पंक्षीको मासु खाँदैनन् पनि । यसले गर्दा खेवाहरूले आफ्नो सांस्कृतिक आस्थाका कारण पंक्षीहरूको संरक्षण पनि गर्दै आएका छन् ।
- राजकुमार दिक्पाल
from: Madhupark
(कविता)
इतिहासको फूलवारीमा वीर काङ्सोरे तिमी
इमेबुहाङ्ग खेवाको अठार पिढी मुनिका तिमी
हाङ्गजिली हाङ्गदुम्बा खेवाको नौ पिढी मुनिका तिमी
मुक्तिम हाङतिगेला खेवाको आठौं पिढीमुनिका तिमी
कमराय तिगेला खेवाको जेठा छोरा हौ तिमी ।
अमर भएर बाँच्न सफल छौ तिमी
सत्रथुम लिम्बूवानको आत्मा छौ तिमी
लिम्बुवानी इतिहासमा सुरक्षित छौ तिमी
हिम्मत साथको युद्धकालीनको अमर हौ तिमी ।
खेवा वंशमा जन्यौं तिगेला थरमा तिमी
इतिहास बन्न सफल रह्यौं अमर रहौ तिमी
गोर्खा सेनापति रघु रानासँग युद्ध गर्ने तिमी
लिम्बुवानी भूमिमाथि बलिदानी दिने तिमी ।
तिम्रो जीवन बलिले अमर भएका छौ तिमी
तिम्रो इतिहासले लिम्बुवानी युवामा हिम्मत दिने तिमी
स्वर्गका फूलवारीमा नाँची बस सदा तिमी
तिम्रो इतिहासको पाठमा हाँसी बस तिमी ।
लिम्बूवानी शाखा सन्तान फैलिएको हेर्ने तिमी
लिम्बूवानी इतिहासमा लुकामारी खेल्ने तिमी
तिम्रो हिम्मतले तुम्लिङ्गटारको माटो रंगाउने तिमी
सभा दोभानमा आत्मा वलि दिएर जाने तिमी ।
लिम्बूवानी शाखा सन्तानको सम्झना भयौ तिमी
२५० बर्ष बितेपनि फूली बसेका छौ तिमी
तिम्रा सुगन्धित वासनामा नाँची बसेका छौ तिमी
लिम्बूवानी हिम्मतलाई शाहस दिने छौ तिमी ।
वीर जीवन वलीले अरुण सिमा लगाउने तिमी
गन्धे पानी डाँडामा चिहान बनी बस्ने तिमी
मूल सडकको बाँया किनारामा बसेका छौ तिमी
तिम्रा महा सत्रु रघुराना दायाँ किनारमा देख्छौ तिमी ।
दुइ शक्तिको चौतारामा वर पिपल देख्दैछौ तिमी
चौतारोको सितल हावामा हाँसी रहने छौ तिमी
साहसको सहारामा बढेका लिम्बुवानी हेर्ने गर तिमी
वीर काङसोरे नामले सदा फूलीवस तिमी ।
लिम्बुवानको हिम्मतमा लुकी बस तिमी
लिम्बुवानी जबसम्म रहन्छ तबसम्म बाँच तिमी
निश्चय पनि यो कलियुगको भोगमा जन्मेको तिमी
कलियुग रहेसम्म अमर नै रहने छौ तिमी ।
गोर्खा सेनाहरुको धेरै हारहरु बुझ्ने नै हौ तिमी
गोर्खा राजा सन्धीमा आउनु इतिहास बन्नु तिमी
तुम्लिङ्गको सन्धी पत्र लिम्बूवानी बहादुर तिमी
मकालुको फेदीमा गुफा बनी बस तिमी ।
गोर्खा राजा र लिम्बूवानको छाप बनेको छौ तिमी
फूल फूल्छ त्यसै झर्छ तर झर्दैनौ तिमी
तिम्रो त्यो हिम्मतको लिम्बूवानी मुटु बन तिमी
शाहवंशी र लिम्बूवानको प्रतीक बनेका छौ तिमी ।
ऐतिहासिक कविता संग्रहमा हाँसी रहनु तिमी
ऐतिहासिक पाना पानामा बाँची बस्नु तिमी
जय लिम्बुवानी सेवा लिई बस्नु तिमी
अमरको फूलवारीमा नाँची बस्नु तिमी ।
- जय काङसोरे !
पृथ्वी नारायण शाहको सेना विरुद्ध लड्ने लिम्वुवानका महासेनानी काङसोरे प्रति सम्मानगत कविता । जसको कारण लिम्बुवान वि. स. २०२१ सम्म स्वायत्त थियो र लिम्बुवानलाई लडेर होइन सन्धि गरेर नेपालमा गाँभ्न बाँध्य पारियो । आजतक लिम्बुवानमा काङसोरे प्रति ठूलो सम्मान गरिन्छ ।
(लेखक इतिहास अध्येता हुनुहुन्छ । ‘पालाम’ र www.nepaliSamachar.com बाट साभार तथा लेखकको कविता संग्रह ‘शृखला’मा पनि यो कविता समावेस गरिएको छ )
उधौली चाड – संक्षिप्त परिचय
नेपालीहरुले मनाउने विभिन्न चाडहरु मध्ये एक मुख्य चाड हो उधौली चाड । यस चाडलाई नेपाल सरकारले किरात उधौली चाड भनेर मान्यता प्रदान गरेको छ र उक्त दिन किरातहरुलाई छुट्टि दिने ब्यवस्था छ । यस चाडलाई किरात समुदायले आफ्नो मुख्य चाडको रुपमा मान्दै आएका छन् । यस उधौली चाडलाई लिम्बुहरुले चासोक तङनाम, किरात राईहरुले साकेला, साकेन्वा, किरात याख्खाहरुले चासुवा र किरात सुनुवारहरुले फोलष्याँदर भन्दछन् ।
प्रकृति पुजक किरात समुदायले नदी, खोलामा पाइने माछा ओह्रालो (उधो) धेरै पानी भएको ठाँउ तिर फर्किएको समयलाई उधौली भनिन्छ र यस अवसरमा उधौली पुजा गर्ने प्रचलन परापूर्वकाल देखि नै चल्दै आएको छ । यस चाडलाई न्वागी पुजा पनि भनिन्छ । अन्नबाली पाकेको बेला आफ्नो देवीदेवता, पितृलाई अन्न, फलफूल चढाएर यो न्वागी पुजा गर्ने गरिन्छ । किरात भित्र मुख्यगरि राई, लिम्बु, सुनुवार, याख्खा, जिरेल, सुरेल, हायु, धिमाल आदी लगायतका जातिहरु पर्ने भएकोले जाति, स्थान र संस्कार अनुसार यस चाडलाई मनाउने आ–आफ्नो तरिकाहरु रहेका छन् ।
भाषा, संस्कार संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्थित्व जोगाउने भएकोले आजभोलि उधौली चाडको अवसरमा संसारभर छरिएर रहेका किरातहरु आपसमा शुभ कामना साटासाट गर्छन । एकै इलाकामा रहेकाहरु एकैठाँउ भेला भएर दुःख सुखका कुराहरु आदानप्रदान गर्ने, आपसमा चिनजान गर्ने, आ–आफ्नो संस्कृति झल्काउने पोषाकहरु लगाएर आ–आफ्नो जाति बिशेषको नाच नाच्ने गर्दछन् । लिम्बुहरुले केलाङ, माङलाङ, कुस्रोक्पा लगायत थरीथरीका नाच च्याब्रुङ बजाउदै नाच्ने गर्दछन्, त्यस्तैगरि हात समाएर पालाम भन्दै धाननाच पनि नाच्ने गर्दछन् । राईहरुले हातमा झ्याम्टा, ढोल, चमर र सेउली (सिरलिङ्गे) लिएर विभिन्न शैलिका साकेला, साकेन्वा नाच्ने गर्दछन् । त्यस्तै गरि सुनुवारहरु ढोल बजाएर ष्यादर नाच्ने गर्दछन्, याख्खाहरु हात समाएर चावाकलाक र च्याब्रुङ बजाएर केइलाक नाच्ने गर्दछन् ।
किरातहरुले यस चाडमा चेली माइती भेटघाट गर्ने, आफन्त, नातागोता, कुलकुटुम्बलाई आफ्नो घरमा बोलाएर मिठो मसिनो ख्वाउने, खाने चलन रहेको छ । यस चाडलाई विशेषत मेलमिलापको चाडको रुपमा पनि मनाउने गरिन्छ । बर्षभरिमा कसैसंग मनमुटाव रहेको खण्डमा साइनोले कान्छो ब्यक्ति जेठो साइनोको घरमा कोसेली, उपहार बोकेर जाने र बोलचाल गर्ने चलन रहेको छ । साइनोमा जेठोले आफ्नो घरमा आएकालाई माया र आदर गर्नुपर्दछ यसरी यो चाडले मेलमिलाप, भेटघाटको अवसर पनि प्रदान गर्ने भएकोले सामाजिक सहिष्णुता कायम राख्न महत्वपूर्ण भूमिका रहेको पाइन्छ ।
आकासमा पूर्ण आकारको रमाइलो उज्वल चन्द्रमा देखिने, बालीनाली कतै लहलह र कतै अन्नबाली भित्राएर भकारी टम्म भरिएको अवस्था हुने भएकोले पनि यो चाड खुसि र सुखको चाड मानिन्छ । यो चाडको बेला धनी, गरिब सबैको घरमा नयाँ अन्नवाली, सागसब्जि र फलफूल हुने भएकोले स्वतन्त्र र स्वाभिमानको साथमा खुसियाली मनाउने गर्दछन् ।
चाडपर्वहरु हामी सबैको साझा सम्पति हुन । कसैको पेवा र निजी हुदैन्न । इच्छुक सबैले यो चाड मनाउने गर्दछ । त्यसैले आजकाल यो चाड साझा र मुख्य चाडमा रुपान्तरित भएकोले संमग्रमा उधौली चाड भन्ने गरिन्छ ।
खोला, नाला, नदीहरुमा पानीको मात्र बढ्दै जाँदा माछाहरु उकालो (उभो) आउने भएकोले वैशाखे पूर्णिमालाई उभौली चाड मनाउने प्रचलन पनि रहेको छ । खेतीपाती शुरु गर्नुपूर्व बालीनाली राम्रोहोस भन्ने कामना गरि उभौली पुजा गर्ने गरिन्छ । पुजामा किरातहरुको पहिलो राजा यलम्बरलाई सम्झेर मुन्धुम फलाक्ने गर्दछन् । यस उभौलीलाई पनि किरात समुदायले भब्यताको साथ मनाउने गर्दछन् ।
बर्षमा एकपटक मात्र आउने मंसिर पूर्णिमाको दिन मनाइने यस उधौली चाड (चासोक तङनाम, साकेला, साकेन्वा, चासुवा, फोलष्याँदर) ले सबैको लागि खुसि र सुख बोकेर सबैको मनमस्तिक देखि घरआँगन सम्म आउने गर्दछ । यो शुभ अवसरमा सबैको कल्याणहोस शुभ कामना ।
Happy Nepali Festival UDHAULI CHAD
- विश्वास दीप तिगेला
biswasdip@ymail.com




